बिचरो बिचरी

(कविता)
बिचरो बिचरी
                   – गैराघरे

गोबर मल बोक्दा खुस्किएको चप्पलको लोती
त्यहि गोबरले लत्पतिएको आङ ढाक्ने चोली
बुबु देऊ न ! भन्दै सिंगान तान्दै पछ्याउने बच्चा
बाँ ! गर्दै घाँसपानी माग्ने गाईको बाच्छा
उत्ताउलीदै टाँङमुनी छिर्ने बाख्रापाठा
कुइँकुइँ गर्दै खुट्टा चाट्ने कुकुर छाउरो
भोक न तिर्खा हस्याङ फस्याङ बिचरी

कहिले भारीतारी खेप्न लेकवेशी
कहिले घाँस दाउरा गर्न बन जंगल
घाँसको चोपले छोपिएको तुने भोटो
कानमा सिउँरेर विर्सिएको सूर्ती ठूटो
आना मोहोर जोरजामको सुर्ता
घामको पहेंलो रंगले हतारिंदा
दर्शन ढुङ्गामा झुलो चकमक
ठेस्न नभ्याएको बिचरो

साँच्चै !
उनीहरुले उज्यालोमा एक अर्कालाई 
कहिले अँगालेका छैनन
बिचरोले ठट्टा गरेर हात समाए
छि नकच्चरो ! भन्दै झड्काउँछे बिचरी
शहरमा जस्तो म्वाई स्वाई छि !
लाजले भुतुक्कै हुन्छन बिचरा बिचरी

तर,
आगाध प्रेम छ यिनीहरुको
डेटिङ मेलापातमा चल्छ
पहराको फेदीको मूलको पानी
आहा ! चिसोकोला बियर सियर के हो र ! 
अँजुलीमा उग्गाएर छाति भिजाउँदै पिउँन पाए
घुँडासम्म उचालेर फरिया बाँध्छे बिचरी
पसिनाले निथ्रुक्क हुँदा उसको चौबन्दी
महँगो पारदर्शी कपडाको के आवश्यकता !
कोदाली विसाएर नियाल्छ बिचरो
रिसाएर माटोको डल्ला बर्साउँछे बिचरी

फूर्सदमा नुहाइ धुवाइ तेल मालिस चल्छ आँगनीमा
परेवाको जोडी ठुँगाठुग गर्छन माकमाकघुर गाउँदै
बजियाको साँढे ! हात उज्याउँछे बिचरी
बजियाकै किन ? प्रश्न गर्छ बिचरो
औसी पूर्णे हलीलाई त लाग्छ नी जवाफ बिचरीको
आ ! बिसाइ दे आजलाई कोदालो पनि
हाँसको पोथीले भाले खेद्छे
नजाने झैं विपरित दिशा नियाल्छे बिचरी
भागेको भाले हेर्दै लाजमान्छ बिचरो

उनीहरुले एक अर्कालाई माया गर्छु भन्नै परेन
ज्ञातथियो दुबैलाई विभिन्न माध्यमबाट
बिचरो भन्न खोज्थ्यो
जवाफ कल्पिन्थ्यो – थाहै छ नि भनिरहनु पर्छ !
हो नि ! माया मुखले भन्दा व्यवहारले झल्किए पो
व्यवहारिक माया पो नसामा दौडन्छ
मुखको त वनावटी माया त हो नि
मुखैले लाउने मुखैले तोडिने
नसामा बगेको माया
खै कसले कहाँ तोड्न सक्छ !