उठिवास

(कविता)
उठिवास           

                  – गैराघरे

सिक्रे हाँगामा बसेर विहानै काग कराउँछ
हा..... हा..... ए ! झटारो हान त्यसलाई !
कखुरा चल्लाको हो या नराम्रो खबरको
कुनै पीर त अवस्य छ आमालाई ।

लगातार खबर आउँछ
फलानो भीरबाट लडेर म¥यो
फलानो अपहरित भयो
फलानो फलानो दिउँसै काटिए
फलानी बलात्कृत भई रे
फलानो फलानोको घर गोठ लुटियो
फलानो फलानोको खेतबारी लुटियो
अनि खोलामा यति बगे
भोकमरीमा यति मरे
यहाँ बम पड्कियो
वहाँ दोहोरो भिडन्तमा
यति मारिए उति घाइते भए
थुइक्क ए ! बन्द गर न त्यो रेडियो ।
खबरको सिलसिला बन्द नहुँदै
आमा चिच्याउँनु हुन्छ ।

यता कागले चल्ला उडाउँछ
च्याँक ! च्याँक !
उता नवजात शिशुको लास भेटिन्छ
बलात्कृत युवती रुखमा फल्छिन
विहान बेलुका दुइथरी फौज खान माग्छन
भकारी लुटिन्छ खोर रित्याइन्छ
खेल्न गएका बच्चा विस्फोटमा पर्छन
ओर्क्यो मृत्यु फर्क्यो मृत्यु
कुहिएका लाशहरु
नौला गिद्ध, स्याल र व्वाँसाहरु
ए ! हान नै ढुङ्गाले !
विरक्त भएर आमा कराउँनु हुन्छ ।

छोराछोरी घरमा भएपनि पीर नभएपनि पीर
आधा बैंश बाँकी हुँदै पति गुमाएकी आमा
वोनीबुतोबाट हुर्काएका छोराछोरी
हरघडी त्राहीत्राही भुटभुटिएको मन
खै के के खोज्दै ढुन्मुनिनुहुन्छ आमा
साडीमा कुम्लो बाँधेर
गाइबाख्रा फुकाएर छोडिदिनुहुन्छ
लौ आफ्नो हिसाबले गरिखाओ
अरुको अन्नबाली चोर्न नजानु
दिनभरी चर्नु र यहिँ आएर बासबस्नु !
कम्तिमा तिमीहरुलाई यो भाग्य त छ ।

ए ! आओ लाग बाटो !
आमा कुम्लो बोकेर अघि लाग्नुहुन्छ
छोराछोरी अघिपछि गर्दै बाटो लाग्छौँ
सानो भाइ सोध्छ कहाँ जाने आमा ?
आमाको ओठ खुल्दैन
भक्कानिएर उम्लिएको मन
आँखाबाट पोखिन्छ
तप्प तप्प ।