गजल

हिँड्दा हिँड्दै छुट्नेहरु भेटिन्छन र गाह्रो हुन्छ ।
त्यहिँमाथि हाल खबर सोधिन्छन र गाह्रो हुन्छ ।।


यादसँगै असर बग्छ अनि अतित बन्छ नदी,
यस्तैबेला मनका किनार भत्किन्छन र गाह्रो हुन्छ ।।


न उ देउता, न म भक्त, लिला हेर्नु परेको छ,
सामु पर्दा यी हातपनि जोडिन्छन र गाह्रो हुन्छ ।।


छाती ठोक्छु मलाई औँला ठडाउँने कोही छैन,
खिसि गर्दै उनका अन्दाज पोखिन्छन र गाह्रो हुन्छ ।।


उनलाई विश्वास दिँदै थिएँ बाडुलीको हिक्का छुट्यो,
संझिनेले साइत हेरी संझिन्छन र गाह्रो हुन्छ ।।